लालबन्दी – सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रमा आज बिहानभर अवरुद्ध विद्युत् सूचारु भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित बागवानी जंगलमा ना ६ ख ७४३३ नम्वरको कन्टेनर ट्रक पल्टिएर बिजुलीको पोलमा गएर ठोक्किँदा विद्युत् अवरुद्ध भएको थियो । इलेक्ट्रोनिक सामान बोकेको ट्रकले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएर ट्रकमाथि परेको र तार लत्रिएको नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले जनाएको छ । नवलपुर सवस्टेशनतर्फबाट तानिएको बिजुलीको पोल ढलेपछि हरिपुरतर्फबाट जोडेर बत्ती सूचारु गरिएको प्राधिकरणका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । उनले सबैतिर बत्ती चालू गरेर बागवनी जंगलमा भाँचिएको बिजुलीको पोल फेर्ने काम भइरहेको बताए ।
साँझसम्म पोल फेरेर हरिपुरको लाइन काटेर पुनः नवलपुरतर्फबाटै बत्ती जोडिने बताएका छन् । बिहान केहीघण्टा विद्युत् अवरुद्ध हुँदा यस क्षेत्रमा बिजुलीबाट हुने सम्पूर्ण काम ठप्प भएको थियो ।
यता, ट्रक पल्टिएर बिजुलीको पोलमा गई ठोक्किँदा चालक सामान्य घाइते भएका छन् । ट्रकका चालक सिन्धुलीको मरिण गाउँपालिका–४, का ३६ वर्षीय तुलबहादुर लामा सामान्य घाइते भएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।