logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरमा डीएसपीको दरबन्दीसहित इप्रका माग


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को दरबन्दीसहित इलाका प्रहरी कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा लेखी पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले नवलपुरमा डीएसपीको दरबन्दी माग गर्दै गृह मन्त्रालयमा लेखी पठाइएको हो । ‘लालबन्दी नगरपालिका १ नं. वडा कार्यालयको पत्रबाट माग बमोजिम लालबन्दी नगरपालिकाले जग्गा उपलब्ध गराउने गरी लालबन्दी नगरपालिका वडा नं. १ मा प्रहरी नायब उपरीक्षकको दरबन्दीसहितको इलाका प्रहरी कार्यालय स्थापनाका लागि गृह मन्त्रालयमा लेखी पठाउने’ भनी जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

नवलपुरमा अहिले प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) इन्चार्ज रहेको ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय छ । सो चौकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दरबन्दी रहेको इलाका प्रहरी कार्यालय लालबन्दी मातहत छ ।

सर्लाहीको उत्तरी भेगमा पटक–पटक डीएसपीको कमाण्डमा प्रहरी युनिट माग भइरहेको छ । उत्तरी भेगस्थित पूर्व–पश्चिम राजमार्गको हरिवन र लालबन्दीमा रहेको इलाका प्रहरी कार्यालयमा इन्स्पेक्टर इन्चार्ज छन् ।

जिल्लाको दक्षिण–पश्चिम भेगको बरहथवास्थित इलाका प्रहरी कार्यालयमा भने केही वर्षदेखि डीएसपीको कमाण्ड छ । तर, त्यहाँ पनि डीएसपीको स्थायी दरबन्दी भने कायम छैन् । प्रहरी हेडक्वार्टरले बरहथवामा काजमा डीएसपी खटाउँदै आएको छ ।