प्रतिकात्मक तस्बिर ।
कविलासी – सर्लाहीको कविलासी नगरपालिका–७, सिर्सियामा ९ दिनअघि एक युवकको दुर्घटनामा परेर मृत्यु भएको भनिएको घटनाको यथार्थ छानबिन गर्न माग गरिएको छ ।
गएको माघ २५ गते नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सिर्सियामा कविलासी नगरपालिका–९, सलेमपुरका ब्रम्हदेव रायका छोरा २७ वर्षीय डिकेश राय मृत फेला परेका थिए । उनी प्रदेश–२–००३–००९ प ७९१५ नम्वरको मोटरसाइकलमा सवार हुँदा अनियन्त्रित भई बाटोको साइडमा रहेको सिमेन्टको पिल्लरमा गएर ठोक्किँदा दुर्घटना भई मृत्यु भएको भनी प्रहरीले उल्लेख गरेको थियो ।
तर, मृतकको परिवारले घटना शंस्कापद रहेको र डिकेशलाई अपराध गरी मारेको हुनसक्ने आशंकासहित छानविनको माग राख्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको ध्यानाकर्षण गराएको हो । मृतक डिकेशका बुवा ब्रम्हदेव सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन् ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी यादवले घटनाको अनुसन्धान जारी रहेको र थप सुक्ष्म ढंगले अनुसन्धान अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।