logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा फागुन ११ देखि हात्तिपाइलेविरुद्धको औषधि खुवाइने


  • उज्यालो अभियान

हरिवन नगरपालिकाको सभाहलमा आयोजित गोष्ठी । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा पनि फागुन ११ गतेदेखि ११ वटै वडामा एकैसाथ हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

मंगलबार नगरपालिकाको सभाहलमा राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम–२०७९ आम औषधि सेवन अभियान अन्तर्गत आयोजित स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा नगरभित्र फागुन ११ गतेदेखि १४ दिनसम्म नगरवासीलाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको जानकारी गराइएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले नगरभित्र करिव ५० हजार जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताए ।

उनले फागुन ११ गतेदेखि २ सातासम्म अभियान चलाउने केन्द्रबाट निर्णय भएको र आफूहरुले सकभर हप्तादिनभित्रै अभियान सक्ने गरी काम गर्ने बताएका छन् । गोष्ठीमा मेयर रमेश बुढाथोकी (कमल) ले हात्तिपाइलेको औषधि भनेपछि अहिले पनि समाजमा अनेक भ्रम र हल्ला ब्याप्त रहेकाले सबैले कुनै शंका नगरी औषधि सेवन गरी अभियानलाई सफल बनाइदिन आग्रह गरे ।

‘मैले औषधि खाएँ, तपाई पनि खानुस’् भनेर सबैलाई औषधि खानका लागि पोत्साहन गर्न समाजका अगुवासँग मेयर बुढाथोकीले अनुरोध गरेका छन् । सहभागी राजनीतिक दलका नेता, स्वास्थ्य चौकीका इन्चार्जलगायतले पनि हात्तिपाइलेको औषधि भन्ने बित्तिकै आम नागरिक डराउने गरेको भन्दै व्यापक प्रचार प्रचार गरेर त्यसलाई चिर्नुपर्नेमा जोड दिए ।

अत्रौली स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनोद कुशवाहाले समाजमा रहेका अनेक भ्रमलाई चिर्दै सतप्रतिसतलाई औषधि खुवाउने गरी फिल्डमा खटिने बताए । उनका अनुसार टोल बस्ती तथा विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर औषधि खुवाउने छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मका सुत्केरी, छारे रोगी र पहिलेदेखि आम औषधि सेवन गर्दा गम्भीर समस्या नदेखिएका व्यक्तिहरु तथा सिकिस्त बिरामीले हात्तिपाइलेको औषधि खानु हुँदैन् । नत्र, अन्य व्यक्तिले औषधि सेवन गर्नुपर्ने हुन्छ ।

हात्तिपाइलेको जिवाणु भएका कुनै एक व्यक्तिले औषधि नखाइदिँदा उसलाई यदि लामखुट्टेले टोक्यो र सो लामखुट्टेले अर्को औषधि खाएको व्यक्तिलाई गएर टोक्यो भने हात्तिपाइले रोग सर्न सक्छ । शरीरमा हात्तिपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने र त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरु बताउँछन् । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ ।