सासापुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुल मर्मत सम्भार गरिएको छ ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको यो पुललाई टालटूल पारेर मर्मत सम्भारको काम गरिँदै आएको छ । पुलमा अत्यधिक खाल्डाखुल्डी भएपछि सवारी साधन ‘पास’ हुन समस्या भइ सवारीको लामो जाम लाग्न थालेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पुलका खाल्डाखुल्डी पुरेर मर्मतको काम गरेको हो ।
खाल्डाखुल्डी पुरेपछि सवारी साधनलाई पुल पार गर्न केही सहज भएको छ । साँघुरो रहेकाले लखन्देखी पुलमा बस, ट्रकजस्ता ठूला सवारी एक–एक गरी पार गर्नुपर्ने हुन्छ । साँघुरो पुलमा त्यहीमाथि खाल्डाखुल्डी अत्यधिक हुँदा गाडी पार हुन समस्या हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले कार्यालयलाई पुल भत्किए मर्मत, संभार गर्ने जिम्मेवारी रहेको बताए । उनले सवारीको बढ्दो तीव्र चाप अनुसार लखन्देखीसहित यहाँका अन्य पुल अत्यन्त साँघुरो र कमजोर रहेको आफूहरुले पनि महशुस गरिरहेको बताए ।
पूर्व–पश्चिम राजमार्गको सर्लाहीखण्ड अन्तर्गत अली लामो रहेका लखन्देही र बागमती पुल बारम्बार यसरी टालटुल पार्ने काम चलिरहन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ईश्वर कार्कीले लखन्देही पुलको खाल्डाखुल्डी टालेपछि अहिले सवारी आवागमनमा केही सहजता भएको बताए ।
उखु बोकेका सवारीका कारण कहिलेकाँही भने पुलमा जाम लाग्ने गरेको छ ।