हरिवन – सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ ।
सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत अभावको भएको हो । कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।
तीन जना प्रशासकीय अधिकृतको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा अहिले काजमा समेत गरी दुई जना प्रशासकीय अधिकृत कार्यरत छन् । प्रशासकीय अधिकृत राजकुमार थापा एक जना मात्रै हुँदा नागरिकता जारी गर्नेदेखि अन्य काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालय मलङ्गवामा काजमा खटाइएको छ ।
दुई जना प्रशासकीय अधिकृतमध्ये थापा पनि गएको शुक्रबारदेखि एक साताका लागि बिदामा बसेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै छन् । तीन जना प्रशासकीय अधिकृत हुँदा समेत नागरिकता, राहदानी, राष्ट्रिय परिचय–पत्रलगायतका काममा भ्याइनभ्याइ हुने गरेकोमा अहिले एक जना मात्रै अधिकृत हुँदा सेवा प्रवाहमा निकै सकस परिरहेको छ ।
प्रशासकीय अधिकृत भुजेल एक्लैले तीन जना अधिकृतको काम भ्याउनुपरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा कार्यरत प्रशासकीय अधिकृत उर्मिला अधिकारी केही महिनाअघि नै र अर्का प्रशासकीय अधिकृत कामेश्वर यादव केही साताअघि सरुवा भएर गएपछि कार्यालयलाई अधिकृतको अभाव भएको हो ।
एक जना मात्रै प्रशासकीय अधिकृत हुँदा सेवाग्राहीलाई सेवा लिन समय लाग्ने गरेको छ । घण्टौं लाइनमा बस्नुपर्दा उनीहरु थप झन्झट बेहोर्न बाध्य भएका छन् ।
इलाका प्रशासन कार्यालय हरिवनमा अहिले कार्यालयमै कार्यरत नायब सुब्बा रञ्जितकुमार साहलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । नायब सुब्बा साहलाई नागरिकतालगायतका कागजातमा हस्ताक्षर गर्ने गरी अख्तियारी दिइएको छ ।
इलाका प्रशासन कार्यालय बरहथवा पनि अहिले नायब सुब्बाकै भरमा रहेको छ । प्रशासकीय अधिकृत रामनरेश राम उपसचिवको परीक्षाका लागि बिदामा बसेकाले इलाका प्रशासन कार्यालय बरहथवामा नायब सुब्बा राजेश रायलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।
नागरिकता फाँटतर्फ मात्रै जिल्ला प्रशासन कार्यालयबाट नयाँ र पुरानो गरी दैनिक १५० वटा भन्दा बढी र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट ४०÷४५ वटा नागरिकता जारी हुने गरेको छ । यि कार्यालयमा राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप पनि उत्तिकै हुने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या रहेको र यसबारेमा माथिल्लो निकायमा जानकारी गराइएको उज्यालो अभियानसँग बताए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी पनि वैदेशिक भ्रमणका लागि केही दिनअघि देखि नै बिदामा छन् ।