लालबन्दी – सर्लाहीमा आज कठ्यांग्रिदो चिसो छ ।
बाक्लो हुस्सु लागेर शीत झरिरहेका कारण यहाँ कठ्यांग्रिदो चिसो महशुस भइरहेको हो । बाक्लो हुस्सु लागेर नजिकैको दृश्य समेत देख्न मुस्किल हुँदा सडकमा सवारी आवागमन तथा मानिसहरुलाई पैदल हिँड्न समस्या भइरहको छ ।
आज बिहान जिल्लाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सीयस मापन गरिएको छ । जिल्लाको उत्तरी चुरेभेगका गाउँ तथा हाईवे क्षेत्रमा अहिले मौसम केही उघ्रिएको छ । तर, जति दक्षिणी भेगमा प्रवेश गर्यो उति नै बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो रहेको स्थानीयले बताएका छन् ।
सर्लाहीको मौसम दिनहुँजसो बद्ली भइरहेको छ । कहिले बिहानैदेखि घाम लाग्छ भने कहिले बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो हुन्छ । दिउँसोपख भने गर्मी चढ्न थालिसकेको छ ।
यहाँका किसान अहिले हिउँदे वर्षाको बेग्र प्रतिक्षामा छन् । पानी परिदिए हिउँदे बालीनालीलाई फाइदा पुग्ने र बाँझो रहेका खेतबारी खनजोत गर्न हुने किसानको अपेक्षा छ ।
यस क्षेत्रमा लामो समयदेखि पानी पर्न नसक्दा प्रदुषण बढेर मानव स्वास्थ्यमा समस्या गरिरहेको छ । ग्रामीण भेगका सडक तथा बस्ती धूलाम्मे अवस्थामा रहेका छन् ।