logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सीडीओ यादवद्वारा राजनीतिक दलका जिल्लास्थित प्रमुखसँग छलफल


  • उज्यालो अभियान

मलंगवा – भर्खरै सरुवा भएर आएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार जिल्लास्थित राजनीतिक दलका सभापति, अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका छन् ।

सीडीओ यादवले जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाहलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग परिचयसहित जिल्लाको पछिल्लो वस्तुस्थितबारे छलफल गरेका हुन् । छलफलमा जिल्लामा बढ्दो लागूऔषधको दूव्र्यसनी र ओसारपसारको विषय प्रमुखरुपमा उठेको छ ।

लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने र यस मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाउन भन्दै राजनीतिक दबाब नदिने निर्णय भएको छ । त्यस्तै, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, मल खादको सहज बिक्री वितरण, स्थानीय तहसँग समन्वय गरी न्यायिक समितिका कामकारवाहीलाई प्रभावकारी बनाउनेलगायत विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

हुलाकी सडकको विषयमा पनि छलफल भएको छ । सडक निर्माणका लागि विगतमा भएका निर्णय कार्यान्वयन गरी बद्मासी गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने निर्णय समेत भएको छ ।

सीडीओ यादवको अध्यक्षतामा आयोजित छलफलमा सुरक्षा निकायका प्रमुखसहित कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, माओवादी केन्द्रका जिल्ला अध्यक्ष अच्यूतम प्रसाद काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण राय, लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद रायलगायत जिल्लाभित्र सक्रिय विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।