मलंगवा – मधेश प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएपछि बुधबार पहिलो पटक गृह जिल्ला सर्लाही आएका सन्जयकुमार यादवलाई सदरमुकाम मलंगवामा १०१ किलोको मालाले स्वागत तथा सम्मान गरिएको छ ।
उनी निर्वाचित पार्टी जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मलंगवास्थित जानकी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी १०१ किलोको मालाले सम्मान गरेको हो । यादव मंसिर ४ को निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ (ख) बाट दोस्रो पटक मधेश प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए ।
गत पुस २९ गते जसपाबाट बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका यादवलाई माघ १२ गते अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्री बनेपछि गृह जिल्ला आएका यादवलाई भव्य स्वागत, सम्मान गरिएको जसपा सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले उज्यालो अभियानसँग बताए ।
रायकै अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय प्रमोद साह र किरण देवी, जिल्ला इन्चार्ज अशोक यादव, पार्टीको मधेश प्रदेश समितिका उपाध्यक्ष रामपृत पासवान लगायतको उपस्थिति रहेको थियो । प्रदेशका अर्थमन्त्री यादवको जिल्लामा ४ दिनसम्म विभिन्न कार्यक्रम तय भएको छ ।
मन्त्री यादवलाई कार्यकर्ताले बुधबार मध्यान्ह हाईवेस्थित नवलपुर चोकमै आएर फूलमालासहित स्वागत गरेर मलंगवा पु¥याएका थिए ।
मधेश प्रदेशमा नेताहरु मन्त्री भएपछि यसरी ठूलो तामझामका साथ ठूल्ठूला माला बनाएर सम्मान गर्ने गरिएको भन्दै आलोचना पनि हुने गर्छ ।