हरिवन – सर्लाहीको हरिवन–४ स्थित सासापुर स्वास्थ्य चौकीको सभाहलमा मंगलबार नदी प्रणाली स्तरीय वातावरणीय तथा सामाजिक व्यबस्थापन योजना सम्बन्धी सरोकारवालाहरुसँग चुरे उत्थानशील योजनाले छलफल तथा अन्तक्र्रियात्मक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
ग्रीन क्लाइमेट फण्डको आर्थिक सहयोग तथा चुरे उत्थानशील आयोजनाद्धारा आयोजित अन्तरकृयात्मक गोष्ठीमा लखन्देही खोलाको आसपासमा रहेको लालबन्दी र हरिवन नगरपालिकाका वडाध्यक्ष, प्राकृतिक श्रोतसंग सरोकार राख्ने सरोकारवालाहरसंग अन्तर्कृया गरिएको हो । सर्लाही भएर बग्ने लखन्देही खोला यसमा मिसिएको खहरे खोला चापिनी अत्रौली, बाहुनीखोला, डाइनी खोला, नारायण खोलामा पहिरो नियन्त्रण, गल्छी नियन्त्रण, नदी उकास जमिन संरक्षण, सिमसार क्षेत्रको संरक्षण गर्दा त्यसबाट उत्पन्न सकरात्मक वा नकरात्मक सामाजिक तथा वातावरणीय प्रभाव र असरका बिषयमा छलफल गरिएको गोष्ठीका सहजकर्ता गोपी पौडेलले जानकारी दिए ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले आफ्नो घर पनि चुरेको फेदीमा रहेको हुनाले चुरे उत्थानशील आयोजनाले खहरे खोलाबाट उत्पन्न समस्याको समाधानमा काम गर्न खोजेकोले यस्तो कामको खुलेर प्रशंसा गरिन् । यस योजनाले त्यस क्षेत्रमा बसोवास गर्ने नागरिकको आर्थिक उपार्जनमा समेत टेवा पुग्ने उनले बताईन् ।
उपप्रमुख घलानले यस आयोजनाले गर्ने हरेक गतिविधिमा आफ्नो र नगरपालिकाले सकेको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको हिमवन्ती नेपाल मधेश प्रदेशका अध्यक्ष रमा पौडेलले बताईन् ।