logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिपूर्वा नगरपालिकाको कामकाज ठप्प, प्रमुख प्रशासकीय अधिकृतमाथि वडाध्यक्षहरुबाट अभद्र व्यवहार भएको आरोप


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले आज (शुक्रबार) देखि नगरपालिकाको कामकाज ठप्प पारेका छन् ।

केही वडाध्यक्षहरुले हिजो प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौचसहित दूव्र्यवहार गरेको भन्दै कर्मचारीले आजबाट काम नगरेका हुन् । नगरपालिका कार्यालयमा आज ताला लाग्यो ।

कर्मचारीहरुले दोषी वडाध्यक्षहरुमाथि कारवाहीको माग गरेका छन् । नगरपालिकाको कामकाज ठप्प भएपछि सेवाग्राही भने मारमा परेका छन् । हरिपूर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको ५ वर्षे कार्यकाल विवादै–विवादमा बितेको थियो ।
नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको छ । बजेट बाँडफाँडमा भागबन्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट एक महिनाअघि मंसिर अन्तिममा पारित गरिएको थियो ।

जनप्रतिनिधिबीच राजनीतिक सहमती हुन नसक्दा कर्मचारीहरु चेपुवामा परेका छन् । मेयर अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने संकेत देखिएको भन्दै हरिपूर्वाका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

जनप्रतिनिधि मिल्न नसक्दा हरिपूर्वामा विकासले गति लिन सकेको छैन् । जनप्रतिनिधिबीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दूव्र्यवहार सहनु परिरहेको छ ।