लालबन्दी – सर्लाहीको मौसम आज (शुक्रबार) बदली भएर हुस्सु लागिरहेको छ ।
अघिल्ला दिनहरुमा यतिबेलासम्म मौसम उघ्रिने गरेको भएपनि आज हुस्सु लागिरहेको हो । हुस्सुका कारण तुलनात्मक रुपमा हिजोअस्ती भन्दा आज केही चिसो छ ।
सर्लाहीसहित तराई मधेशका जिल्लाहरुमा कठ्यांग्रिदो चिसो भने हराइसकेको छ । दिउँसोपख गर्मी नै हुने गरी घाम लाग्न थालिसकेको छ । हुस्सु लागेको बेला आज बिहान ७ बजे सर्लाहीको न्यूनतम तापक्रम १४ डिग्री सेल्सीयस मापन गरिएको छ ।
पुस मध्यतिर अत्यन्तै कठ्यांग्रिदो चिसो हुँदा यहाँको तापक्रम ८ डिग्री सेल्सीयससम्म झरेको थियो । यस्तै, सर्लाहीको मौसम हिजो पनि दिनभरजसो बदली भई पानी पर्लाजस्तो भएको थियो ।
तर, यस क्षेत्रमा पानी नपरेको महिनौँ भइसकेको छ । पानी नपर्दा सुक्खापन बढेको छ भने हिउँदे बाली प्रभावित भइरहेका छन् ।