मलंगवा – सर्लाहीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम सोमबार यहाँबाट बिदा भएर गएका छन् ।
गृहमन्त्रालयमा सरुवा भएका गौतम सोमबार दिनभर यहाँबाट विभिन्न कार्यालय तथा संघसंस्थाहरुले आयोजना गरेको बिदाई कार्यक्रममा सरिक भई अपरान्ह काठमाडौँतर्फ प्रस्थान गरेका हुन् । गौतमलाई जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीसहित सुरक्षा अंगका प्रमुखहरुले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका छन् ।
त्यसैगरी, जिल्ला समन्वय समितिको तर्फबाट प्रमुख कौशलकिशोर सिंहले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका छन् । कर्मचारी मिलन केन्द्र सर्लाहीले पनि बेग्लै कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी गौतमलाई बिदाई गरेको छ ।
त्यस्तै, अन्य सामाजिक संघसंस्थाले पनि उनलाई बिदाई गरेका छन् । गौतम अपरान्ह जुटपानीस्थित पद्म–भुवनेश्वरी वृद्ध सेवाश्रममा आश्रीत वृद्धवृद्धाबाट आर्शिवाद ग्रहण गरी काठमाडौँ प्रस्थान गरेका छन् ।
आश्रमका संरक्षक बासुदेव शरण कोइराला, व्यवस्थापक भवानी कोइरालालगायत भएर उनलाई बिदाई गरे । सोही आश्रममा पुगेर उज्यालो अभियान दैनिक पत्रिका तथा अनलाईनको तर्फबाट अध्यक्ष टंकबहादुर क्षेत्रीले प्रजिअ गौतमलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका छन् ।
गृह मन्त्रालअन्तर्गत कुशल र अनुभवी प्रशासकको रुपमा परिचित गौतम सर्लाहीमा १३ महिना बिताएर नियमित सरुवा भई गएका हुन् । सीडीओ गौतमकै नेतृत्वमा यो पटक सर्लाहीमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ईतिहासमै पहिलो पटक शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।
गौतमको नेतृत्वमा बिना विवाद र अन्य चुनावमा जस्तो गोली नचली ऐतिहासिक रुपमा शान्तिपूर्ण निर्वाचन गराउने टिममा रहेका नेपाल प्रहरीका प्रमुख प्रवीण पोखरेल, सशस्त्र प्रहरीका प्रमुख भरत खनियाँ र राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झाको सरुवा भइसकेको छ ।