logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हुलाकी सडक निर्माणमा दबाब दिन अनुगमन


  • उज्यालो अभियान

धूलाम्मे अवस्थामा रहेको हुलाकी सडक । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्षौदेखि असाध्य खराब रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको जिल्लाका प्रमुखहरुले निरीक्षण गरेका छन् ।

सडकको शुक्रबार दिउँसो जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, विभिन्न पालिकाका प्रमुख सहितका अधिकारीहरुले स्थलगत अनुगमन गरेका हुन् । पूर्वी बेल्ट संग्रामपुरदेखि पश्चिमी भेग बलरासम्मको हुलाकी सडक नबन्दा सर्वसाधारण अत्यन्तै हैरान छन् ।

पर्सा, ब्रम्हपुरी, कौडेना, गौडेतालगायत ठाउँमा सडकको ‘साइड क्लियर’ गरेको हप्तौँ हुँदा पनि निर्माणले गति लिन नसकेपछि जिल्लास्थित जिम्मेवार अधिकारीहरु स्थलगत निरीक्षणमा निस्किएका हुन् । त्यसक्रममा उनीहरुले सडक कार्यालय र ठेकेदारलाई प्रतिनिधिलाई सडकको दूरावस्थाले गर्दा जनजीवन प्रभावित भइरहेकाले काममा ढिलाई नगर्न निर्देशन दिएका छन् ।

हुलाकी सडक नबन्दा दक्षिणी भेगको दर्जनौँ गाउँका वासिन्दालाई सदरमुकाम मलंगवासम्म आउजाउ गर्दा वर्षायाममा हिलो र अहिले हिउँदमा धुलोले हैरान पारिरहेको छ ।