मलंगवा – सर्लाहीको दक्षिणी भेगस्थित विष्णु गाउँपालिकाले छ महिनापछि बल्ल गाउँसभा गरेर नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।
बजेट बाँडफाँटमा फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीच सहमति नहुँदा गाउँसभा प्रभावित हुँदै आएको थियो । प्रत्येक स्थानीय तहले असारमै नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गर्नुपर्ने हुन्छ । विष्णु गाउँपालिकाले भने छ महिनापछि राजनीतिक सहमति जुटाएर गएको बुधबार बल्ल गाउँसभा गरेको हो ।
गाउँसभाले ५० करोड ८७ लाख ८८ हजार नौ सय ८० पैसा बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जीव सापकोटाले उज्यालो अभियानसँग बताए । बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले यस आर्थिक वर्ष २०७९÷८० को गत साउनदेखि नै तलब खान पाएका छैनन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प छन् ।
प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए । गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले असारदेखि नै पटक–पटक गाउँसभा गर्ने प्रयास गरेका थिए तर अल्पमतमा रहेका कारण उनले गाउँसभाको बैठक नै राख्न सकिरहेका थिएनन् ।
यस्तै जिल्लाको हरिपूर्वा नगरपालिकाले पाँच महिना ढिलो गरी गएको मंसिर २९ गते नगरसभा गरेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । हरिपूर्वामा पनि अल्पमतमा रहेका नगरप्रमुख विनोद साह तेलीले लामो प्रयासपछि फरक दलका जनप्रतिनिधिबीच सहमति जुटाएर नगरसभाबाट बजेट पारित गराएका हुन् ।
बजेट पारित भई नगरका सम्पूर्ण गतिविधि सूचारु भइसकेको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले बताए ।