बरहथवामा बिहीबार साँझ गरिएको दीप प्रज्वलन । (तस्बीर सौजन्य : जितेन्द्र सिंह )
बरहथवा – सर्लाहीमा पनि बिहीबार बलिदानी दिवस मनाइएको छ ।
१६ औँ बलिदानी दिवसका अवसरमा बिहीबार साँझ बरहथवामा दीप प्रज्वलन गरिएको छ । बरहथवा बजारस्थित नेपाल बैंक अगाडि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता र स्थानीयको उपस्थितिमा शहीदहरुको सम्झना गर्दै दीप प्रज्वलन गरिएको हो ।
यस्तै, सदरमुकाम मलंगवामा पनि शहीद चोकमा रहेका शहीदको शालिकमा माल्यार्पण गर्दै बलिदानी दिवस मनाइएको छ । जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरुले बेग्लाबेग्लै भेला भएर शहीदको शालिकमा माल्यार्पण गर्दै बलिदानी दिवस मनाएका हुन् ।
२०६३ साल माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेका थिए । महतोले सहादत प्राप्त गरेपछि मधेसी दल तथा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
तर, सहिद परिवार र घाइतेको अवस्थामा भने केही परिवर्तन भएको छैन् । दिवसकै अवसरमा मधेश प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा नै दिएको थियो ।