मेयर बासुदेव अधिकारी आफै बसेर लालबन्दीमा जमार्ग अतिक्रमण गरि बनाईएका संरचना भत्काउँदै ।
उज्यालो अभियान संवाददाता / लालबन्दी, कात्तिक २१ – सर्लाहीको लालबन्दी नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग (हाइवे) मा ७५ फिट भत्काउने अभियानलाई निरन्तरता दिँदै बजारस्थित पश्चिम बसपार्क भत्काएको छ ।
लालबन्दीबाट पश्चिमतर्फ जाने बसपार्कमा रहेका संरचना डोजर लगाएर भत्काइएको हो । त्यहाँको बसपार्कलाई अब लालबन्दी ९ स्थित गोल्छा अगाडि राख्ने योजना रहेको र त्यहाँ बसपार्कका लागि सम्याउनेदेखि अन्य संरचना बनाउने काम भइरहेको लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्ण कार्कीले बताए ।
उनले बसपार्कमा पार्किङ गरेर बस्ने म्याजिक लगायतका अन्य सवारी साधनलाई साझा संस्थाको खाली जमिनमा राख्ने विषयमा छलफल भइरहेको बताए । नगरपालिकाले केही समयअघि देखि नै लालबन्दी बजारसहित नवलपुर र रानिगन्जमा पनि ७५ फिट क्लियर गरेको छ ।
तर, त्यसरी सडक क्लियर गरिएपनि सही सदुपयोग नभएको र राजमार्गमा अतिक्रमण गरेर राखिएका ठेला तथा अन्य फुटपाथ पसल भित्री सडकमा जथाभावी राख्दा झनै अस्तव्यस्त भएको जनगुनासो आइरहेको छ । नगरपालिकाले सडक खाली गराएको तर त्यसलाई व्यवस्थित गर्न चासो नदिएको भन्दै आम नागरिकले गुनासो गर्दै आइरहेका छन् ।
कतिपय ठाउँमा ७५ फिटभित्र परेका संरचना भत्काएर त्यसै छाडिदिँदा राजमार्ग क्षेत्र कुरुप देखिएको छ ।