logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले–जसपा तालमेल : सर्लाहीको क्षेत्र नं. १ र २ मा जसपाको दावी


  • उज्यालो अभियान

लालबन्दी – नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेलको अन्तिम तयारी भइरहँदा जसपाले सर्लाहीको ४ मध्ये २ वटा निर्वाचन क्षेत्रमा दावी गरेको छ ।

एमाले मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्तका अनुसार जसपाले क्षेत्र नं. १ र २ मा दावी गरेको छ । २०७४ सालको निर्वाचनमा सर्लाही क्षेत्र नं. १ बाट तत्कालिन राजपा (हाल जसपा) का नेता प्रमोद साह र क्षेत्र नं. २ बाट तत्कालिन राजपा (हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी) का महेन्द्र राय यादव निर्वाचित भएका थिए । साह र यादव यो पटक पनि चुनाव लड्ने दाउमा छन् ।

जसपाले १ नम्वर क्षेत्रबाट आफ्ना निवर्तमान सांसद प्रमोद साहलाई नै दोहोर्याउँदै छ । एमालेसँग क्षेत्र नं. २ दावी गरिरहेको जसपाले यस क्षेत्रमा भने उम्मेदवार तय गरिसकेको छैन् । यहाँका निवर्तमान सांसद महेन्द्र राय यादव अहिले सत्ताधारी गठवन्धनमा छन् ।

जसपासँग तालमेल भए एमालेले भने सर्लाहीको क्षेत्र नं. ३ र ४ मात्रै पाउने सम्भावना देखिन्छ । एमालेले पनि उम्मेदवार तय गरिसकेको छैन् । जसपाले दावी गरेको क्षेत्र नं. १ मा एमालेका मानबहादुर खड्का, मनोजकुमार देवकोटालगायतका नेताहरुले केही समय अघिदेखि नै टिकटका लागि लबिङ गरिरहेको अवस्था छ ।

त्यस्तै, क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष राजनारायण साहको एकल नाम सिफारिस भएर गएको थियो । जसपा बाहिरिँदा सर्लाहीमा सत्ताधारी गठवन्धनभित्र पनि निर्वाचन क्षेत्र फेरबदल हुने सम्भावना बढेको छ । जसपाको भागमा परेको क्षेत्र नं. १ अब कस्ले पाउँछ ? भन्ने चौतर्फी चर्चा सुरु भएको छ ।

क्षेत्र नं. १ बाट कांग्रेसका शम्भुलाल श्रेष्ठ, शिव गुर्मछान, रामचन्द्र चौधरीलगायत नेताहरु टिकटका प्रमुख दाबेदार मानिएका छन् । क्षेत्र नं. २ बाट भने निवर्तमान सांसद महेन्द्र राय यादव नै सत्ताधारी गठवन्धनको उम्मेदवार बन्ने सम्भावना बलियो देखिन्छ ।

यादव बाबुराम भट्टराईले भर्खरै गठन गरेको नेपाल समावादी पार्टीमा भएपनि माओवादीले उनलाई आफ्नो चुनाव चिन्हबाट चुनाव लडाउने यसअघि नै सहमती गरेको थियो । तर, २ नं. क्षेत्रमा नेपाली कांग्रेसले समेत दावी छाडेको छैन् । हिजो (बिहीबार) मात्रै शेखर कोइराला पक्षका नेताहरुले सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रममा क्षेत्र नं. २ अन्य पार्टीलाई सुम्पिए मान्य नहुने चेतावनी दिएका थिए ।

सत्ता गठवन्धनमा सर्लाहीको क्षेत्र नं. ३ माओवादीको भागमा परेको छ । २०७४ मा माओवादीका रामेश्वर राय यादव निर्वाचित भएको यो क्षेत्रमा अहिले भने माओवादीले नरेन्द्रप्रसाद साहलाई अघि सारेको छ ।

२०७४ मा स्वतन्त्र (गुलाब छाप) बाट चुनाव लडेर दोस्रो भएका संविधान सभा सदस्य साह केही दिनअघि मात्रै माओवादीमा प्रवेश गरेका थिए । कांग्रेसको भागमा परेको क्षेत्र नं. ४ मा निवर्तमान सांसद डा. अमरेशकुमार सिंह नै दोहोरिन चाहान्छन् । तर, कांग्रेसको संस्थापन पक्षधरका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहसहितका नेताहरु शेखर कोइराला पक्षधरका नेता एवं निवर्तमान सांसद सिंहलाई टिकट नदिने पक्षमा छन् ।

४ नं. क्षेत्रमा कांग्रेसको दुई गुटका नेता–कार्यकर्ता सामाजिक संजालमा एक आपसमा गालीगलौचमै उत्रिएका छन् । कांग्रेसले ४ नम्वर क्षेत्रलाई आफ्नो पकट क्षेत्र मान्छ । दुई गुटको टकराबले भने पार्टी कमजोर भएको कांग्रेसकै नेताहरु तर्क गर्छन् ।

मंसिर ४ को निर्वाचनका लागि पर्सी २३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । मनोनयन दर्ताको लागि अब २ दिन मात्रै बाँकी छँदा दलहरुले सिट बाँडफाँट र उम्मेदवार टुँग्याउनै सकेका छैनन् ।

पार्टी कार्यकर्ता र आम जनमानसमा कुन–कुन दलबीच तालमेल हुने हो ? र को–को उम्मेदवार हुन्छन् ? भन्ने निकै चासो देखिन्छ । नेताहरुले आ–आफ्नो स्वार्थका लागि यसरी अन्तिममा फरक सिद्धान्त भएका पार्टीबीच तालमेल गरेको भन्दै आलोचना गर्नेहरु पनि उत्तिकै छन् ।