लालबन्दी – सर्लाही निवासी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले नेतृ चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएका हुन् । सो कार्यक्रममा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह पनि सरिक थिए ।
०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिईन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, अदालतको आदेशका कारण उनको मन्त्री पद १८ दिनमै गएको थियो ।
नेतृ चौधरीको घर कौडेना र हरिवन गरी दुई ठाउँमा छ । स्रोतका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो । तर, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले भने चौधरीलाई अहिलेसम्म टिकट दिने कुनै आश्वासन नदिएको दावी गरेका छन् । “उहाँ (चौधरी) कांग्रेसको नीति मन पराएर हाम्रो पार्टीमा आउनुभएको हो, टिकटबारे कुरा भएको छैन्,” जिल्ला सभापति सिंहले बुधबार साँझ उज्यालोसँगको कुराकानीमा भने ।
सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि क्षेत्रीय समितिले महामन्त्री गगनकुमार थापाको नाम सर्वसम्मत सिफारिस गरेको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट ०७४ मा निर्वाचित सांसद डा. अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ । संस्थापन पक्षका जिल्ला सभापति सिंहसहिताका नेताहरु अमरेशलाई टिकट नदिलाउने पक्षमा छन् ।
तर, निवर्तमान सांसद अमरेशले भने ४ नम्वरबाट टिकट आफूले नै पाउने बताउँदै आएका छन् ।