logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाही एकीकृत समाजवादीका अधिकांश नेता एमालेमै फर्किए


  • उज्यालो अभियान

उपाध्यक्ष देवेन्द्र रायलाई खादा लगाएर स्वागत गर्दै एमाले नेताहरु । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – नेकपा एकीकृत समाजवादी सर्लाहीकाे जिल्ला नेतृत्वका अधिकांश पदाधिकारी एमालेमा समाहित भएका छन् ।

आज शुक्रबार सदरमुकाम मलंगवा स्थित एमाले पार्टी कार्यालयमा आयाेजित एक समाराेहमा समाजवादीका नेताहरु समाहित भएका हुन् । समाजवादीका केन्द्रीय परिषद सदस्य रुपनारायण सिंह, जिल्ला उपाध्यक्ष देवेन्द्र राय, सचिब गाेविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितीका सदस्य समेत रहेका विश्व लामा, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष चूडामणि धामी लगायतकाे कार्यक्रममा उपस्थिती थियाे ।

उपाध्यक्ष राय र सचिब अधिकारीकाे संयुक्त हस्ताक्षरमा नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको सम्वन्धमा प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

´फुटवाट देश, जनता र पार्टीलाई नोक्सान भएको महसुस गर्दै नेकपा एमाले केन्द्रीय, मधेश प्रदेश एवं सर्लाही जिल्ला कमिटीबाट नेकपा (एकीकृत समाजवादी) सहितलाई नेकपा एमालेमा जोडिन आव्हान गरेको र नेकपा एकीकृत समाजवादी पार्टी तथा नेतृत्वले कम्युनिष्ट आन्दोलन, राष्ट्रियता एवं जनताको सवृद्धीको चाहना पुरा गर्न नसक्ने नेकपा एकीकृत समाजवादी सर्लाही जिल्ला कमिटीका अत्यधिक संख्याको ठहर भएकाले विना सर्त नेकपा एमालेमा समाहित भएको जानकारी गराईन्छ, विज्ञप्तिमा लेखिएकाे छ, ´नेकपा एकिकृत समाजवादी केन्द्रीय परिषद सदस्य क रूप नारायण सिंह सहित प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटी उपाध्याक्ष क.देवेन्द्र राय, सचिव क. गोविन्द अधिकारी, उपसचिव लिलादेवी कोइराला, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितीका सदस्य समेत रहनु भएका क. विश्व लामा, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर नगर कमिटीका अध्यक्ष क. मेन कुमार गौतम, हरिपुर नगर कमिटी अध्यक्ष क चूडामणि धामी, जिल्ला सचिवालय तथा कमिटीका १ सय २५ जना सदस्य, विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्य, अध्यक्ष तथा अन्य पदाधिकारी सहित पार्टी र जनवर्गीय संगठनका विभिन्न कमिटीका पदाधिकारी एवं सदस्य सहित ५ सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा समाहित गरिएको छ । क्रमशः स्थानीय तहसम्म समायोजन प्रकृया जारी रहनेछ ।

चार बुँदे विज्ञप्तिमा थप लेखिएकाे छ, ´प्रत्यक्ष वा परोक्ष रुपमा नेकपा एकीकृत समाजवादीलाई नेकपा माओवादी केन्द्रमा विलय गर्न आगामी निर्वाचनमा एउटै घोषणा पत्र आउने एवं दुवै पार्टीको एकता संयोजन समिति वनाउने सहित ३ बुँदे सहमती भएको छ । पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्नु माओवादीमा पार्टीलाई विसर्जन गर्न सुरु गर्नु, नेपाली कांग्रेस जस्ता यथास्थितीवादी पार्टीलाई मलजल गर्नु एमसीसी लगायतका घातक सम्झौतामा हस्ताक्षर गर्नु, सरकारमा जान वा फर्कन रोइकराई गर्नु तर जनताका समस्यामा थोरै पनि राहत दिन नसक्नु जस्ता कुराले पार्टीको वैचारिक धरातललाई तिलान्जली दिएको प्रष्ट छ । स्थानीय निर्वाचनमा नेकपा एसको अवस्थाले पनि फुट प्रति वितृष्णा झल्किएको देखियो । घटनाक्रमले आगामी संसदीय निर्वाचन पछि यो पार्टी नै नरहने देखिएकाले अब पनि यो पार्टीमा रहिरहनुको औचित्य देखिएन । त्यसैले जनताको बहुदलिय जनवादको आलोकमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सहयोग पुयाउदै सवृद्ध नेपालः सुखि नेपालीको परिकल्पना साकार पार्न श्रद्धेय अध्यक्ष क. केपी ओलीको नेतृत्वमा नेकपा एमालेमा आवद्ध हुन र आगामी संसदीय निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न नेकपा एकीकृत समाजवादीमा रहनु भएका तथा सम्पुर्ण दाजुभाई दिदी बहिनीमा हार्दिक आव्हान गर्दछौ ।`

समाजवादीका उपाध्यक्ष रायकाे अध्यक्षता तथा सचिब अधिकारीकाे सञ्चालन रहेकाे कार्यक्रममा प्रचार प्रसार विभाग प्रमुख वाग्लेले विज्ञप्ति वाचन गरेका थिए । समाहित हुनेहरुलाई एमाले केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज कमला देवी महताे, केन्द्रीय सदस्य एवं सह-ईन्चार्ज बद्री न्याैपाने, प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह, नेताहरु नागेन्द्र चाैधरी, विदुर प्याकुरेल, तुलसी हुमागाँई लगायतले अबिर र खादा लगाएर स्वागत गरेका थिए । आफूहरु बिनाशर्त मूलघरमा फर्कीएकाे समाजवादीका नेताहरुकाे भनाई थियाे ।