logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पार्टीबाट निकालिए अधिकारी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा नेकपा माओवादी केन्द्रले आफ्ना एक जना नगर कमिटी सचिवालय सदस्यलाई पार्टीबाटै निष्काशन गरेको छ ।

अनुशासन उल्लंघन गरेको र पार्टीलाई कमजोर बनाउन समानान्तर कमिटी गठन गरी सामाजिक संजालमा प्रचारप्रसार गर्दै हिँडेको भन्दै माओवादीको नगर कमिटी सचिवालय सदस्य फणिन्द्र अधिकारीलाई पार्टीबाटै निकालिएको हो । सचिवालयको विस्तारित बैठकले पार्टीको विधान २०७८ को धारा ५६ अनुसार कारवाही गर्दै अधिकारीलाई एक वर्षका लागि नगर कमिटीबाट निष्काशन र पार्टी सदस्यता निलम्बन गर्ने निर्णय भएको माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले बताए ।

पन्तले अधिकारीमाथि भएको कारवाहीको पत्र सार्वजनिक गर्दै एक वर्षको अवधीमा सच्चिएर आफूले गरेको गल्तीलाई आत्मआलोचना गरेमा पार्टीले पुर्नविचार गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।

तर, नेता अधिकारीले भने स्थानीय तह निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गर्न माग गर्दा उल्टै आफूलाई धाकधम्की आएको बताउँदै आएका छन् । उनले केही दिनअघि पार्टीको लेटर प्याडमै प्रेस विज्ञप्ती निकाली हरिवनमा माओवादीको समान्तर कमिटी गठन भएको र त्यसको संयोजक आफू भएको उल्लेख गरेका थिए ।