हरिवनमा भएको पत्रकार सम्मेलनमा नेता निधी र कांग्रेसका अन्य नेताहरु । (तस्बीर : उज्यालो अभियान)
हरिवन – नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बिमलेन्द्र निधीले नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको बताएका छन् ।
नेपाल प्रेस युनियन सर्लाही शाखाले बिहीबार दिउँसो हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता निधीले प्रतिनिधि सभाबाट बहुमतले पारित भएको यस विधेयकको साम्प्रदायिक सोच भएकाहरुले मात्रै विरोध गरिरहेका बताएका हुन् । केही व्यक्तिले नागरिकता विधेयकलाई साम्प्रदायिक रुप दिएर राजनीति गर्न खोजेको उनले आरोप लगाएका छन् ।
उनले वैवाहिक अङ्गिकृतको हकमा संविधानले जे व्यवस्था गरेको छ, सोही अनुसार हुनुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा कांग्रेस नेता निधीले आगामी मङ्सिरको पहिलो हप्ताभित्रै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भइसक्ने बताए ।
उनले अहिलेको गठवन्धन आगामी चुनावसम्मै कायम रहने पनि उल्लेख गरे । गठवन्धनमा बरु अन्य एक÷दुई वटा दल समेत थपिन सक्ने निधीको भनाई छ ।
त्यसका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धनभित्रका दल र समाहित हुन चाहेका अन्य दलसँग निरन्तर सम्वाद गरिरहेका निधीले जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनमा जसरी नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेसले लोकप्रिय मत ल्याउने विश्वास व्यक्त गरेका छन् ।
निधीलगायत कांग्रेसका अन्य नेताहरुले बिहीबार दिउँसो नै सदरमुकाम मलंगवामा आयोजित प्रजातन्त्र सेनानी तथा कांग्रेसका पुराना नेता स्वर्गिय धीरेन्द्र कुमार श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्वोधन गरेका छन् ।