हरिवन – नवनियुक्त सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले केपी शर्मा ओलीबाट संसदीय व्यवस्था अझैपनि खतरामा रहेको आरोप लगाएका छन् ।
दुई–दुई पटकसम्म संसद भंंग गर्ने एमाले अध्यक्ष ओलीबाट जोगिनुपर्ने मन्त्री चौधरीको भनाई छ । बिहीबार दिउँसो सर्लाहीको हरिवनमा नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला कमिटीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले ओलीमाथि सो आरोप लगाएका हुन् ।
चौधरीले आगामी संसदीय निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा पनि अगाडि भई तेस्रो हुने दावी समेत गरे । चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपाल इमान्दार र सादकी नेता रहेको उल्लेख गर्दै उनी नेतृत्वको एकीकृत समाजवादीलाई संसदीय चुनावमा जनताले लोकप्रिय मत दिने बताए ।
आगामी संसदीय निर्वाचन व्यवस्थित ढंगले हुने बताउँदै निर्वाचनपछि मुलुक सुदृढ भएर अघि बढ्ने उनको भनाई छ । मन्त्री चौधरीले हरिवन आउँदा स्थानीय उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, आदिवासी जनजातिलगायत क्षेत्रका अगुवासँग अन्तक्र्रिया समेत गरेका पार्टीका हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्लेले बताए ।
त्यस्तै, हरिवन नगरपालिका–१, केराबारीका हायू समुदायले संग्राहलय भवन माग गरकोमा त्यसलाई आफूले सकारात्मक रुपमा लिएको मन्त्री चौधरीले उल्लेख गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका नेता एवं प्रदेश सभा सदस्यद्वोय डिल्ली प्रसाद उप्रेती र बेची लुङ्गेलीसहित अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मन्त्री चौधरीलाई बिहीबार नै हरिवन नगरपालिका–९, स्थित दनुवारीमा स्थानीय दनुवार समुदायले आफ्नो झाँकीसहित भव्य स्वागत गरेका छन् ।