logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अनुगमनको नाममा झुठो आरोप लगाउँदै कर्मचारीलाई धम्की दिइयो : डालीमार्ट


  • उज्यालो अभियान

डालीमार्टले उज्यालो अभियानलाई सम्वोधन गर्दै निकालेको पत्र ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको डालीमार्टले म्याद गुज्रिएको वस्तु बिक्री वितरण नगरेको दावी गरेको छ ।

सोमबार (हिजो) मात्रै लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेतृत्वको टोलीले अनुगमन गर्दा डालीमार्टमा म्याद गुज्रिएको र कीरा परिसकेको अखाद्य वस्तु बिक्री भइरहेको पाइएको भन्दै अनुगमन टोलीका सदस्यहरुले संचारमाध्यमसँग भनेका थिए । सोही आधारमा उज्यालो अभियानसहितका संचार माध्यमबाट समाचार प्रशारण तथा प्रकाशन भएको थियो ।

लालबन्दी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाको नेतृत्वमा पुगेको अनुगमन टोलीले डालीमार्टबाट म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकीरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री गरिरहेको फेला पारेको थियो ।

त्यस्तै, एक जना ग्राहकलाई इडक्सन चुल्होमा लाग्ने भनी झुक्याएर सामान्य प्रकारको कुकर बिक्री गरिएको र पछि ती ग्राहकले घर लगेर सो कुकर इडक्सन चुल्होमा प्रयोग गर्न खोज्दा प्रयोग नभएपछि फिर्ता गर्न भनी ल्याउँदा फिर्ता नलिएको भन्दै गुनासो पनि आएको छ । तर, डालीमार्टले आज (मंगलबार) एक पत्र सार्वजनिक गर्दै ती कुराहरु झुटो भएको दावी गरेको हो ।

२ दिन अघि मात्रै म्याद गुज्रिएको अवस्थामा भेटिएको एउटा मात्रै विस्कुट पनि म्याद गुज्रिएको वस्तु हटाउने क्रममा छुटेको पत्रमा दावी गरिएको छ । त्यस्तै इडक्सन चुल्होमा लाग्ने कुकरको सवालमा ती ग्राहकले साधारण खाले इडक्सन चुल्होमा लाग्ने भनेर लगेको तर पछि अटोमेटिक इडक्सन चुल्होमा लगाउँदा नचलेको र कुकरको बिर्कोमा क्षति पुर्याएर जुठो कुकर फिर्ता ल्याउँदा फिर्ता नगरिएको डालीमार्टले फिर्ता नगरेको उल्लेख छ ।

यस्तै, अनुगमन गर्न आउँदा कर्मचारीहरुलाई थर्काउँदै डालीमार्टको शटरमा ताल्चा लगाउनुपर्ने भन्दै धम्की समेत दिइएको पत्रमा आरोप लगाइएको छ । नगरपालिका कार्यालयले भने डालीमार्टसँग मौखिक स्ष्टीकरण सोधिएको र आगामी दिनमा यस्तो गल्ती नदोर्याउने प्रतिवद्धता व्यक्त भएको जनाएको छ ।