कार्यपालिका सदस्यमा निर्वाचित भएपछि निर्वाचन अधिकृतबाट प्रमाण पत्र लिँदै कांग्रेस नेता कौलशकिशोर सिंह ।
बलरा – सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा पराजित भएका नेता कौशलकिशोर सिंह राजपुत कार्यपालिका सदस्यमा भने विजयी भएका छन् ।
बुधबार सम्पन्न कार्यपालिका निर्वाचनमा ३९ मत ल्याई सिंह विजयी भएका हुन् । बलरामा मेयर, उपमेयर, ११ जना वडाध्यक्ष र ४४ जना वडा सदस्यगरी ५७ जना मतदाता रहेका थिए ।
कांग्रेस नेता सिंह अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका बलरास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘राजपुत’ जातीलाई सरकारले अल्पसंख्यक जातजातीको सूचीमा राखेको छ ।
कार्यपालिका सदस्यमा निर्वाचित सिंह मेयरमा भने तेस्रो भएका थिए । बलरामा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्र विजयी भएको थियो ।
कांग्रेस नेता सिंहले आम कार्यकर्ताबाट आफू कार्यपालिका सदस्यमा निर्वाचित भएर भएपनि पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठेपछि आफूले कार्यपालिका सदस्यमा उम्मेदवारी दिएको उज्यालो अभियानसँग बताए । आफ्नो इच्छाले नभई आम कार्यकर्ताको दबाबमा कार्यपालिका सदस्य बन्न तयार भएको सिंहको भनाई छ ।
आफ्नो पार्टीका ६ जना वडाध्यक्ष विजयी हुँदा समेत आफूलाई भने सांसद डा. अमरेशकुमार सिंहले जालझेल गरेर मेयरमा हराएको नेता सिंहको आरोप छ । यस्तै, बलरामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरेका छन् ।
कांग्रेस र माओवादीबाट ४÷४ जना कार्यपालिका सदस्य चयन भएका छन् । दलित वा अल्पसंख्यकबाट तीन जना नगर कार्यपालिका सदस्यमा माओवादी केन्द्रका अजाद कुमार सिंह र वीरेन्द्र साह तथा नेपाली कांग्रेसका कौशलकिशोर सिंह चयन भएका छन् ।
यस्तै, महिलाबाट ५ जना नगर कार्यपालिका सदस्यमा कांग्रेसकी बालकेशी देवी पासवान, परमिला देवी र सुशीला देवी तथा माओवादीका जैकली देवी र भागिया देवी चयन भएका निर्वाचन अधिकृतको कार्यालय बलराले जनायो ।