लालबन्दी – सर्लाहीमा स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ ।
जिल्लाभरबाट छनौट भएका २ हजार ९३७ जना म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भएपश्चात सरकारी सेवासुविधा दिएर आ–आफ्नो घर पठाइएको हो । गएको चैत २८ गते नियुक्ति दिइएको म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालयसहित सबै प्रहरी युनिटहरुबाट बिदाई गरिएको हो ।
सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा भेला भएका म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेललगायतका प्रहरी अधिकारीहरुले प्रशंसा पत्र प्रदान गरी बिदाई गर्नुभयो । सर्लाहीमा छनौट भएका २ हजार ९३७ जना म्यादी प्रहरीलाई गएको चैत २८ गते नियुक्ति दिएर कार्य क्षेत्रमा खटाइएको थियो ।
यस्तै, जिल्लामा निर्वाचनका लागि थप मद्धतमा काठमाण्डौंसहित विभिन्न तालिम केन्द्रहरुबाट खटिएर आएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई पनि बिदाई गरिसकिएको छ ।