logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा वडा नं. १३ सम्मको मतगणना सकियो, मेयरमा कांग्रेसको २२ सय र उपमेयरमा १५ सयको अग्रता


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिकामा अहिलेसम्म वडा नं. १३ सम्मको मतगणना सकिएको छ ।

वडा नं. १ देखि १३ सम्मको २० हजार ३७४ मत गनेर सकिँदा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा अग्रता बढाइरहेको छ । मेयरमा कांग्रेसका बासुदेव अधिकारीले ७ हजार ८१४ मत प्राप्त गरेका छन् ।

अधिकारी प्रतिस्पर्धी भन्दा २२ सय ८५ मतले अघि छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द महतले ५ हजार ५२९ मत पाउँदा नेकपा माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले ३ हजार ७४७ मत मात्रै पाएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसकी कल्पना पाख्रिन १५ सय २२ मतले अघि छिन् । उनले ७ हजार २७५, नेकपा एमालेकी सनसरीमाया थिङले ५ हजार ७५३ र नेकपा एकीकृत समाजवादीका गोविन्द अधिकारीले २ हजार १२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले जनायो ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार लालबन्दी १२ को वडाध्यक्षमा माओवादीबाट दुर्गा बहादुर आले र १३ को वडाध्यक्षमा कांग्रेसबाट शिवकृष्ण वैद्य निर्वाचित भएका छन् । उनीहरु दुवै जना निवर्तमान वडाध्यक्ष समेत हुन् ।

लालबन्दीमा अहिलेसम्म कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ३ वटा, एमालेले २ वटा र स्वतन्त्र उम्मेदवारले एउटा वडामा जित हाँसिल गरेका छन् ।

मतगणना रोकियो

यसैबीच, लालबन्दीमा अहिले मतगणना रोकिएको छ । लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ वटा मतपत्र कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएभएपछि मतगणना रोकिएको हो ।

आधारभूत विद्यालय खतिवडा चोकमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भएपनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएको छ । ९ वटा मतपत्र गायब भएपछि एमालेका कार्यकर्ताहरु आज दिउँसो केहीबेर राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा थिए ।

एमालेले वडा नं. ८ मा पुनः मतगणना गर्नुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गएराती नै लालबन्दी ८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेको जनाएको छ ।

पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाख्रिन प्रधानाध्यापकबाट राजिनामा दिएर वडाध्यक्षमा उठेका हुन् । त्यहाँ नेकपा एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ ल्याएका छन् ।

अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम देखिएको स्वीकारेका छन् । उनले मंगलबार साँझ उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँग कुरा गर्दै पुनः मतगणना गर्ने वा घोषणा भइसकेकोलाई मान्यता दिने भन्ने बारेमा निर्वाचन आयोगमा लेखिपठाएको र आयोगको निर्णय कुरेर बसिरहेको बताएका छन् ।

९ मत कम भेटिँदा समेत निर्वाचन अधिकृतको कार्यालयले गएराती मध्यरातमै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मतपरिणाम सार्वजनिक गरिसकेको छ । सो वडामा वडाध्यक्षमा माओवादीले १६ मतले जित निकालेको भएपनि चारै जना वडा सदस्यहरु भने एमालेबाट चयन भएका छन् ।