logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पहिलो घेरामै सेना राखेर सर्लाहीको धनकौलमा मतदान सूरु (तस्बिर र भिडियो सहित)


  • उज्यालो अभियान

७ घण्टादेखि अवरुद्ध धनकौलको पशु सेवा केन्द्रमा पहिलो घेरामै खटिएर मतदान सुचारु गराउन आएका नेपाली सेनाका सुरक्षाकर्मी र मतदान गर्न जम्मा भएका मतदाताहरु ।
मतदान स्थलबाट सुरक्षाकर्मी र निर्वाचनका कर्मचारी सामग्री बोकेर निर्वाचन अधिकृतको कार्यालयतर्फ गएपछि धनकौलको पशु सेवा केन्द्र मतदान स्थलमा विभिन्न राजनैतिक दलका कार्यकर्ताहरुले गरेको आगलागी ।
मतदान स्थलबाट सुरक्षाकर्मी र निर्वाचनका कर्मचारी सामग्री बोकेर निर्वाचन अधिकृतको कार्यालयतर्फ गएपछि धनकौलको पशु सेवा केन्द्र मतदान स्थलमा विभिन्न राजनैतिक दलका कार्यकर्ताहरुले गरेको आगलागी ।

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थल स्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान केहीबेरबाट सूचारु भएको छ । त्यहाँ पटक–पटक झडप भईरहेकाले बिहान ८ बजेदेखि अवरुद्ध मतदान कार्य पौने ३ बजेसम्म हुन सकेको थिएन ।

७ घण्टादेखि अवरुद्ध धनकौलको पशु सेवा केन्द्रमा पहिलो घेरामै खटिएर मतदान सुचारु गराउन आएका नेपाली सेनाका सुरक्षाकर्मी र मतदान गर्न जम्मा भएका मतदाताहरु ।

मतदान केन्द्रमा नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अहिले दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गराईएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन् । ‘अब साँझ ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गर्नेलाई मतदान गराईने छ’, प्रजिअ गौतमले उज्यालो अभियानसँग भने, ‘अब जति मत खस्छ–खस्छ मतदान त गराउनै पर्यो ।’

त्यहाँ पहिला आ–आफूमा विवाद र झडपमा उत्रिएका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु सुरक्षाकर्मीले बल प्रयोग गरेपछि भने संयुक्त रुपमा उनीहरु सुरक्षाकर्मीमाथि नै ढुंगामुढा सहितको आक्रमणमा उत्रिएका थिए । शुक्रबार बिहान १५ जना जतिले मतदान गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएको थियो । विवाद बढ्दै गएर झडप नै हुन थालेपछि सुरक्षाकर्मीले मतदान स्थल नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो । अश्रुग्याँसले पनि स्थिती नियन्त्रणमा नआएपछि सुरक्षाकर्मीले हवाई फायर नै गरेका थिए ।
दर्जनौं राउण्ड अश्रुग्याँस र गोली प्रहार गरेपनि स्थिती नियन्त्रणमा नआएपछि मतदान स्थलबाट सुरक्षाकर्मी र निर्वाचनमा खटिएका मतदान अधिकृत सहितको टोली निर्वाचन सामग्री बोकेर निर्वाचन अधिकृतको कार्यालय धनकौल गएको थियो । उनीहरु गए लगतै प्रदर्शनकारीहरुले मतदान स्थलमा आगलागी समेत गरेका छन् ।

केहीबेर अघि पुनः निर्वाचनका कर्मचारीहरु उक्त मतदान स्थलतर्फ मतदान कार्य सुचारु गराउन गएका हुन् । स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि सरकारले पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात मतदान स्थल भन्दा निकै टाढा तेस्रो घेरामा नेपाली सेनाका सुरक्षाकर्मी खटाएको छ । तर उक्त मतदान स्थलमा भने अब नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अर्थात मतदान स्थललाई सेनाको नियन्त्रणमा राखेर मतदान कार्य सुचारु गराईएको छ । धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले पहिलो घेरामा नै नेपाली सेनालाई खटाएर मतदान सुचारु गराईएको जानकारी दिए ।

जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । केही मतदान स्थलहरुमा भने पटक–पटक विवाद एवं झडपहरु भएपनि केही बेर अवरुद्ध हुदै पुनः मतदान सुचारु भईरहेको छ ।

सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् । आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।