logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नारायण खोलामा मतदान सामग्री लिएर हिँडेको टोली पत्थरकोटमा रोकियो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

लालबन्दी – सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलाका लागि निर्वाचन सामग्री लिएर हिँडेको टोली पत्थरकोटमा अड्किएको छ ।

चुरेभेगमा पर्ने नारायण खोलाका लागि मतपत्रसहितको मतदान सामाग्री लिएर लालबन्दी बजारबाट मङ्गलबार दिउँसो नारायण खोला प्रस्थान गरेको टोली लालबन्दी नगरपालिका–१३, स्थित पत्थरकोट छेडा गाउँमा अड्किएको हो । लालबन्दी बजारदेखि पत्थरकोटसम्म सडक पुगेपनि त्यहाँबाट नारायण खोलासम्म जान खोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सर्लाहीको कर्णाली भनेर चिनिने साबिकको सिंगो एउटै गाविस रहेको नारायण खोलामा खोलाबगर बाटै भएपनि पानी नपर्दा बसलगायत अन्य सवारी गुड्छन । तर, दुई दिनअघि सम्म भएको वर्षाले खोलाको बाटो बिग्रिएकाले अहिले भने ट्याक्टरमात्रै मुस्किलले चलिरहेका छन् ।

ट्याक्टर मात्रै जाने भएपछि मङ्गलबार साँझसम्म ट्याक्टर खोजी गर्दा नपाएकाले आफूहरु पत्थरकोटस्थित प्रहरी चौकीमै नै बास बसेको नारायण खोलास्थित डाइनीखोला मतदान केन्द्रका मतदान अधिकृत सीताराम दाहालले उज्यालो अभियानसँग मंगलबार राती बताए । नारायण खोलामा साबिकको गाविस भवन रहेको मोटरदोभान र जनता प्राथमिक विद्यालय डाइनीखोलामा गरी दुईवटा मतदानस्थल रहेका छन् ।

मोटरदोभानको (क) र (ख) मतदान केन्द्रमा एक हजार चार र डाइनी खोलाको एउटा मात्रै मतदान केन्द्रमा ९३० जना गरी कूल दुई हजार ३३४ जना मतदाता रहेका छन् । डाइनी खोलाका मतदान अधिकृत दाहालले तीनवटै मतदान केन्द्रका मतदान अधिकृतहरु पत्थरकोटमा नै बास बसेको बताएका छन् ।

अरु ठाउँमा बिहीबार (पर्सी) मात्रै मतपत्र ढुवानी हुने भएपनि आफूहरुले भने मङ्गलबार नै मतपत्र समेत सँगै लिएर हिँडेको उनले जानकारी दिए । पत्थरकोटबाट बाटो नभएकाले फेरि फर्किएर आउन समस्या हुने हुँदा आफूहरुले मतपत्र मङ्गलबार नै सुरक्षाकर्मीसहित बोकेर हिँडेको उनले बताए ।

दाहालले पत्थरकोटसम्म गाडीमै मतपत्रसहितका सामग्री लिएर गएपनि त्यहाँबाट करिव १२ किलोमिटर उत्तर खोलाको बाटो भएर नारायण खोलासम्म ट्याक्टरमा ढुवानी गर्नुपर्ने बताए । मंगलबारत पत्थरकोटमै रोकिएको मतदान सामग्रीसहितको टोली अब भोली (बुधबार) बिहान नारायण खोलातर्फ प्रस्थान गर्ने लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले उज्यालोसँग बताए ।

इलाका प्रहरी कार्यालय लालबन्दीले मतदान अधिकृतसहितको टोली पत्थरकोटमै बास बसेपछि मतपेटिका र अन्य निर्वाचन सामग्री पत्थरकोट प्रहरी चौकीभित्रै रातभर सुरक्षितसँग राखिने जनाएको छ । लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शान्तराम कार्कीले नारायणखोलाको मोटरदोभान मतदान केन्द्रामा प्रहरी चौकी पत्थरकोटका प्रहरी नायब निरीक्षक (सई) र डाइनीखोलाको मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा कर्मचारीको टोलीसँगै प्रहरी पठाइने बताए ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले मङ्गलबार साँझसम्म नारायण खोलाबाहेक अन्य लगभग सबैजसो मतदान केन्द्रहरुमा मतदान अधिकृतसहित मतदान सामग्री पुगिसकेको जानकारी दिए । आउँदो ३० गते हुने निर्वाचनका लागि सर्लाहीमा ३१८ वटा मतदानस्थलमा ५९९ वटा मतदान केन्द्र कायम गरिएको छ ।