हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा २०७४ सालको निर्वाचनमा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई बिदाई गरिएको छ ।
नगरपालिका कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी मेयर, उपमेयर, कार्यपालिका सदस्य, वडाध्यक्षलगायत सबै जनप्रतिनिधिहरुलाई बिदाई गरेको हो । सोही अवसरमा जनप्रतिनिधिको ५ वर्षे कार्यकालमा कार्यसम्पादन गर्नेक्रममा सहयोग गर्ने उत्कृष्ट ४ कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई एक लाख, प्रशासकीय अधिकृत कुमार परियारलाई ४० हजार, चौथो तहका कर्मचारी दीपेन्द्र कुमार रायलाई ३० हजार र कार्यालय सहयोगी उपेन्द्र रायलाई २० हजार नगदसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो । त्यसैगरी, नगरभित्र सुरक्षा व्यवस्था कायम गर्न सहयोग गर्ने सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) संग्रामपुरका सशस्त्र प्रहरी निरीक्षक गंगाराम कार्की, हरिपूर्वा प्रहरी चौकीका इन्चार्ज र कार्यपालिका सदस्यहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।
नगरपालिकाकी उपमेयर एवं हाल कार्यवाहक मेयर चन्द्रकला देवी सुडीको अध्यक्षता तथा निवर्तमान मेयर शियाराम रायको प्रमुख आतिथ्यतामा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।