फाइल तस्बिर ।
जनार्जन खत्री/लालबन्दी- सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायणखोलामा सडकको अभावले गर्दा यो पटक पनि मतदान केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ ।
लालबन्दी नगरपालिका–१४ (साबिकको सिङ्गो नारायणखोला गाविस) सडक सञ्जालमा जोडिएको छैन् । चुरेपहाडमा पर्ने नारायणखोलासम्म आउजाउ गर्न खोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
केही दिनदेखि चुरेक्षेत्रमा बारम्बार वर्षा भइरहेकाले बाढी आएर खोलाको बाटो बिगारेका कारण उम्मेदवारहरुलाई समेत मतमाग्न जान समस्या परिरहेको छ । त्यहाँका निवर्तमान वडा सदस्य दिपसागर दोङले अहिलेसम्म बाटो सामान्य मात्रै बिग्रिएको भएपनि फेरि वर्षा भए पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको उज्यालो अभियानसँग बताए ।
नारायणखोलासहित चुरेभेगमा शनिबार दिउँसोपख पनि पानी परेको छ । शनिबारको वर्षाले खोलामा पुनः बाढी आएर बाटो थप बिग्रिएको स्थानीयले बताएका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारदेखि वडा नं. १३ पत्थरकोट छेडा गाउँसम्म सडक पुगेको छ । त्यहाँदेखि भने वडा नं. १४ नारायणखोलासम्म पुग्न १२ किलोमिटर भन्दा बढी खोलाको बगर प्रयोग गर्नुपर्ने हुन्छ ।
छेडा गाउँबाट करिव तीन किलोमिटर अगाडि पुगेपछि मोटरदोभान र डाइनीखोलालाई छुट्याउने दोभान भेटिन्छ । माइस्थान भनिने सो स्थानबाट दायाँतर्फ लखन्देही खोलाहुँदै मोटरदोभान र बायाँतर्फ डाइनीखोलाहुँदै डाइनीखोलास्थित मतदान केन्द्रमा पुग्न सकिन्छ ।
नारायणखोलामा साबिकको गाविस भवन रहेको मोटरदोभान र जनता प्राथमिक विद्यालय डाइनीखोलामा गरी दुईवटा मतदानस्थल रहेका छन् । मोटरदोभानको (क) र (ख) मतदान केन्द्रमा एक हजार चार र डाइनीखोलाको एउटा मात्रै मतदान केन्द्रमा ९३० जना गरी कूल दुई हजार ३३४ जना मतदाता रहेका छन् ।
नारायणखोलामा छरिएर रहेका घरहरु छन् । धेरैजसो मतदातालाई मतदान केन्द्रसम्म पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता समेत छ ।
लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले नारायणखोलाको विकटताका सम्वन्धमा जिल्ला स्तरीय बैठकमा कुरा उठेको बताए । उनले मतदान सम्पन्न भएपछि खोलाबाढीकै कारण स्थलमार्गबाट मतपेटिका ल्याउन सम्भव नभए हेलिकप्टर झिकाउने गरी छलफल भएको उज्यालोसँग बताए ।
विकटताका कारण अरु स्थानमा भन्दा नारायणखोलामा अगाडि नै कर्मचारी, सुरक्षाकर्मी, मतपेटिका, मतपत्रलगायत निर्वाचन गराउन आवश्यक पर्ने सामग्री पठाउने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही दिनअघि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीको टोलीले नारायणखोलाको दुवै मतदानस्थलको स्थलगत निरीक्षण गरिसकेको छ ।
२०७४ सालको निर्वाचनमा पनि खोलाबाढी आएर बाटो अवरुद्ध हुँदा डाइनीखोला मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी ल्याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । मोटरदोभान मतदान केन्द्र (क) र (ख) बाट भने ट्याक्टरमा हालेर मतपेटिका ल्याइएको थियो ।