मूर्तिया – सर्लाहीको हरिपुर नगरपालिका–१, मूर्तिया जंगलमा भएको हत्याको घटनामा संलग्न रहेको आशंकामा एकै घरका तीन जना पक्राउ परेका छन् ।
रौतहटको गुजरा नगरपालिका–२, घरभई मूर्तियास्थित नातेदारको घरमा आएका ३१ वर्षीय विष्णुसिंह घिसिङको शनिबार मुत्तेश्वर सामुदायिक वन क्षेत्रभित्र धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । घिसिङको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नातेदार दिदी–भिनाजु र छोरालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु बरहथवा नगरपालिका–९, मूर्तिया निवासी हुन् । तीनै जनालाई अहिले इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
श्रीमान–श्रीमती र छोरा तीनै जनाले घिसिङको हत्या गरेको स्वीकार गरिसकेका प्रहरी स्रोतले जनाएको छ । हत्याको कारणबारे सुक्ष्म ढंगले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
डीएसपी यादवले तीनै जनाविरुद्ध सोमबार सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी कारवाही अघि बढाइएको बताए । घिसिङको शव शनिबार दिउँसो बागमती सिचाईं आयोजनाको गढैया शाखा नहरभन्दा केही पश्चिम मुक्तेश्वर सामुदायिक वन क्षेत्रको माथिल्लो भागमा भित्री गञ्जी मात्रै लगाएको र शरिरका अन्य भाग पूरै नांगो अवस्थामा फेला परेको थियो ।
वन क्षेत्रमा दाउरा काट्न जानेले घाँटी रेटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर समेत झिकाएर अनुसन्धान गरेको छ ।
घिसिङको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी आइतबार मृतकको बुवालाई बुझाइएको डीएसपी यादवले बताए ।