logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको पाँचवटा पालिकाका लागि मतपत्र पुनः छाप्नुपर्ने


  • उज्यालो अभियान

मलंगवा– सर्लाहीको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँचवटा पालिकाका लागि मतपत्र पुनः छाप्नुपर्ने भएको छ ।

जिल्लाको बरहथवा नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, चक्रघट्टा गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकाको मतपत्र दोहोर्याएर छाप्नुपर्ने भएको हो । ती पालिकामा सर्लाही जिल्लाका लागि छापिएको मतपत्रमा स्वतन्त्र उम्मेदवारहरुका लागि व्यवस्था गरिएको ९ वटा चुनाव चिन्ह भन्दा बढी उम्मेदवारी परेपछि मतपत्र फेरि छाप्नुपर्ने अवस्था आएको हो ।

निर्वाचन आयोगले सर्लाहीका लागि ४४ लहरको मतपत्र छापिसकेको थियो । जसमा राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित ३६ वटा दलको क्रमैसँग र त्यसपछि ९ वटा स्वतन्त्र उम्मेदवारका लागि प्रदान गरिने चुनाव चिन्ह उल्लेख छ ।


बरहथवा, चक्रघट्टा, बलरा, रामनगर र ब्रम्हपुरीमा ९ जना भन्दा बढीको स्वतन्त्रमा उम्मेदवारी परेपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह थपेर पुनः मतपत्र छाप्नु पर्ने भएको हो । ती स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले तय गरेको चुनाव चिन्ह प्रदान गरिसकिएको र अब निर्वाचन निर्देशिका अनुसार क्रमैसँग थप स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह छापिएर आउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले उज्यालो अभियानसँग जानकारी दिए ।

भुजेलका अनुसार जिल्लाका बाँकी १५ वटा पालिकामा भने ४४ लहरकै मतपत छापिएर आउने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार सदरमुकाम मलंगवामा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र १९ वटा पालिकामा खुलेको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिसकेका छन् ।