माओवादीबाट मेयरका उम्मेदवार प्रल्हाद बुढाथोकी (दायाँ) र समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्द अधिकारी ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।
माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।
दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका हुन् ।
माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता दिएका छन् ।
लालबन्दीमा यि दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन् । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर, उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।
माओवादी र समाजवादीबीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ । लालबन्दीमा नेपाली कांग्रेसले मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन तथा नेकपा एमालेले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरिमाया थिङलाई उठाएको छ ।