दुर्घटनामा संलग्न ट्याङकर ।
कर्मैया – जिल्लाको बागमतीस्थित पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । दुर्घटनामा छोरा गम्भीर घाइते भएका छन् ।
बागमतीस्थित ट्राफिक बिट अगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१, बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनायो । दुर्घटनामा मृतक प्रमिला देवीका छोरा २५ वर्षीय विजय यादव सामान्य घाइते छन् ।
प्रहरीका अनुसार बुधबार बिहान ८ः२७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।