logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीका १० वटा पालिकामा आजबाट टाइफाइडविरुद्धको खोप लगाउन सुरु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आइतबारबाट विभिन्न १० वटा पालिकाका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

दोस्रो चरणमा जिल्लाको चारवटा नगरपालिका र छवटा गाउँपालिकामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले आइतबारबाट बैशाख ९ गतेसम्मका लागि जिल्लाको हरिपुर, गोडैता, बलरा र कविलासी नगरपालिका तथा रामनगर, विष्णु, कौडेना, धनकौल, बसबरिया र चक्रघट्टा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको जनाएको छ ।

यसअघि पहिलो चरणमा चैत २८ गतेदेखि ३० गतेसम्म जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, मलङ्गवा, हरिपूर्वा र बरहथवा नगरपालिका तथा चन्द्रनगर, पर्सा र ब्रह्मपुरी गाउँपालिकाका बालबालिकालाई खोप लगाइएको थियो । ती पालिकामा अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाउनेक्रम चलिरहेकाले खोप लगाइसकेका बालबालिकाको विवरण आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाभर दुई लाख ६३ हजार ६०० सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य छ । नेपालमै पहिलो पटक लगाइएको टाइफाइडविरुद्धको खोप अभियानमा सर्लाहीका २० वटै स्थानीय तहहरुले स्वास्थ्य संस्थाका साथै विद्यालयहरुमा समेत स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।