मलंगवा – देशभरमा झैँ सर्लाहीमा पनि पेट्रोलियम पदार्थको अभाव भएको छ ।
आईतबारबाट जिल्लाका अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दै सर्वसाधारण अत्तालिएका छन् । धेरैले मोटरसाइकल लगायतका अन्य सवारीमा हाल्ने इन्धन पाएका छैनन् ।
पेट्रोलियम डिलर्स एसोएिसन सर्लाहीका अध्यक्ष सुनिल कुमार साहले केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार आफूहरुले पनि जिल्लामा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण बन्द गरेको बताए । बाँकी रहेका डिजेल तथा पेट्रोल आज दिनभर बिक्री गरेपनि अब भोलीबाट सबै पेट्रोल पम्पहरु पूर्णरुपमा बन्द गरिने उनले बताए । केन्द्रमा वार्ता चलिरहेको र माग पूरा भएर सहमती हुनासाथ पुनः साबिककै अवस्थामा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने तर सहमती नभए आन्दोलन जारी रहने साहले बताएका छन् । सर्लाही जिल्लाभर ४३ वटा पेट्रोल पम्पहरु रहेका छन् । यस्तै, जिल्लामा एलपी ग्याँस बिक्री गर्ने बिक्रेताहरुले पनि ग्याँसको बिक्री वितरण रोकेको जनाएका छन् ।
नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि थप अभाव भएको हो । इन्डियन आयल कर्पोरेसनले हिजो नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटे पनि एलपी ग्याँस, डिजेल, मट्टितेललगायतको मूल्य ह्वात्तै बढेको छ । ग्याँस मट्टितेलमा भएको मूल्यवृद्धिका कारण निगमको घाटा पनि चुलिएको छ । निगमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो मूल्य सूची अनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने छ । निगमले आगामी दिनमा पेट्रोलियम आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ ।
फाेटाे क्याप्सन : सर्लाहीकाे नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत गैर पिपरिया चाेक स्थित पेट्राेल पम्पमा आईतबार दिउँसाे पेट्राेल हाल्न लामवद्द सर्बसाधारण । (तस्बिर : उज्यालाे अभियान)