उपराष्ट्रपति नन्दबहादुर पुन ।
लालबन्दी – सर्लाहीमा सशस्त्र द्वन्द्वमा मृत्युभएका र विभिन्न घटनामा मृत्युभई सरकारले शहीद घोषणा गरेकाको परिवारलाई सम्मान गरिने भएको छ ।
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानले शहीदका परिवारलाई राहत प्रदान गर्दै सम्मान गर्न लागेको हो । सर्लाहीमा सशस्त्र द्वन्द्वमा र विभिन्न घटनामा मृत्युभएका ६० जना रहेका छन् ।
मृतक ६० जनाको परिवारलाई जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गर्न लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले उज्यालोका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए । प्रदेश सचिव महतोका अनुसार पर्सी चैत १७ गते बिहीबार बरहथवा नगरपालिका–२, हजरियास्थित सामुदायिक भवनमा सम्मान कार्यक्रम राखिएको छ ।
शहीदका परिवारलाई उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्मान गर्न लागिएको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुन विमानमार्फत भोलीनै जनकपुर आउने र राती बर्दिवासमा बास बसेर पर्सी बिहान ११ बजे हजरिया आइपुग्ने प्रदेश सचिव महतोले बताएका छन् ।
उपराष्ट्रपतिको आगमनलाई मध्यनजर गरी सर्लाही प्रहरी सुरक्षा व्यवस्था चुस्त पार्न लागिपरेको छ ।