logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिकाको वडा नं. ४ र १३ को सीमामा पर्ने अमुवा खोला पुलमा ज ११ प ८९४५ नम्वरको मोटरसाइकल पुलबाट तल खस्दा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । पुलमुनी मोटरसाइकल खसेर दुई जनाको मृत्यु भएको अवस्थामा शव देखेपछि आज (बुधबार) बिहान ९ बजेतिर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) जनकराज ढुंगाना नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरी निरीक्षक ढुंगानाले मृतक दुवैको परिचय खुल्न बाँकी रहेको उज्यालो अभियानसँग बताए ।

मृतकहरुको साथमा रहेको मोटरसाइकलको ब्लू बुकमा महोत्तरीको औरही नगरपालिका १ का चन्दन कुमार साहको नाम रहेकाले मृतकहरु महोत्तरीकै हुनसक्ने अनुमान गरिएको छ । सोही ब्लू बुकमा रहेको नामका आधारमा मृतकका परिवारहरुलाई खबर गरिसकिएको र उनीहरु बाटोमा आउँदै गरेका प्रहरी निरीक्षक ढुंगानाले बताएका छन् ।

प्रहरीले दुर्घटना राती नै भएको हुनसक्ने बताएको छ । बिहान गाउँको भित्री सडकमा पर्ने पुल हुँदै हिँड्डुल गर्नेहरुले दुर्घटना भएको देखेपछि प्रहरीमा खबर गरेका हुन् ।