कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहलाई मायाको चिनो प्रदान गरिँदै ।
लालबन्दी – सर्लाहीको लालबन्दीमा लायन्स क्लबले निर्माण गर्न लागेको ब्लड बैंक भवनको बुधबार शिलान्यास गरिएको छ ।
लालबन्दी नगरपालिका वडा नं. ५ मा वडा कार्यालय छेउमै निर्माण गर्न लागिएको टियू लायन्स ब्लड बैंक तथा रिसर्च सेन्टर भवनको बुधबार दिउँसो प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहले शिलान्यास गरेका हुन् । भवन निर्माण गर्न मन्त्री सिंहले यो वर्ष आफ्नो मन्त्रालयबाट २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भवन शिलान्यास गर्दै सामाजिक कार्यमा क्रियाशील लायन्स क्लबले निर्माण गर्न लागेको ब्लड बैंक भवनका लागि रकम अभाव हुन नदिन आफूले थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । यस क्षेत्रमा बेला–बेलामा रक्तदान शिविरबाट संकलन हुने रगत सन्चित गरेर राख्ने उद्देश्यसहित ब्लड बैंक भवन निर्माण गर्न लागिएको लायन्स क्लब लालबन्दी सिटीका जोन चियन पर्सन राजकुमार न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मोहनहरि भण्डारी, लायन्स क्लब नेपालका पूर्व गर्भनर भरत प्रसाद ढुंगेल, प्याब्सन सर्लाहीका अध्यक्ष निर्मल आचार्य लगायतले मन्तव्य व्यक्त गरेका छन् ।