नयाँरोड – आइतबार सर्लाहीका मगर समुदायले पनि ४० औँ एकता दिवस मनाएका छन् ।
मगर एकता दिवसका अवसरमा नेपाल मगर संघ सर्लाहीले मानव सेवाश्रम हरिवन–९, नयाँरोडमा भोजन गराएको छ । आश्रममा आश्रय दिएर राखिएका ७८ जनालाई बिहानको एक छाक भोजन गराइएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।
उनका अनुसार उज्वल पुलामी मगर र मनोज पुन मगरको प्रायोजनमा मानव सेवाश्रममा सो कार्यक्रम गरिएको हो । संघका जिल्ला अध्यक्ष आलेकै अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघका पूर्व मध्यमान्चल उपाध्यक्ष नारायण खपाङ्गी मगर, प्रदेश २ का इन्चार्ज तथा केन्द्रीय सदस्य लेखराम जर्गा मगर, अर्का केन्द्रीय सदस्य बिमल लुंगेली, समाजसेवी सुरेन्द्र लामा लगायतको उपस्थिति थियो ।
उता, मगर युवा संघको आयोजनामा आइतबार हरिवन नगरपालिकाको वनबाटिकामा ४० औँ मगर एकता दिवस मनाइएको छ । बिजय पुलामी मगरको अध्यक्षता तथा एमाले सर्लाहीका सहइन्चार्ज एवं केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, आइतबार नै सर्लाहीको सीमा नजिकै पर्ने बागमती पारी रौतहटको नुनथरमा मगर एकता दिवसको अवसर पारेर नेपालका प्रथम शहीद लखन थापाको शालिक अनावरण गरिएको छ ।