logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

बरहथवामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न सुरु


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकामा आइतबारबाट राष्ट्रिय परचय पत्रका लागि विवरण संकलनको काम सुरु भएको छ ।

जिल्लाको २० वटा पालिकाहरुमध्ये बरहथवामा सबैभन्दा अन्तिममा आइतबारबाट विवरण संकलनको काम सुरु गरिएको हो । जिल्लाको गोडैता नगरपालिकामा पनि अहिले राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ ।

त्यसबाहेक अरु १८ वटा स्थानीय तहमा विवरण संकलनको काम भइसकेको छ । बरहथवा नगरपालिकाको वडा नं. ५ बाट विवरण संकलनको काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

गोडैतामा रहेको कर्मचारीहरुको टोलीलाई अब बरहथवा ल्याएर १८ वटै वडामा तीव्र रुपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण भरिने छ । आइतबार नै बरहथवामा राष्ट्रिय परिचय पत्र सम्वन्धी एक दिने अभिमुखीकरण समेत प्रदान गरिएको छ ।
बरहथवाका जनप्रतिनिधि, कर्मचारी, वडा सचिव, शिक्षक लगायतलाई राष्ट्रिय परिचय पत्रका लागि कसरी विवरण संकलन गर्ने भन्ने बारेमा अभिमुखीकरण प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा तथा हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम हुँदै आएको छ ।