लालबन्दी – सर्लाहीको बागमतीबाट प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–९, शङ्करपुरका १९ वर्षीय विनोद महतो र १८ वर्षीय अनिल कुमार यादव रहेका छन् । शनिबार मध्यराती बागमती नगरपालिका–९, बाट ज ६ प २६०४ नम्वरको मोटरसाइकल चोरी भएको थियो ।
सो मोटरसाइकल शङ्करपुरस्थित जङ्गलमा लुकाइ राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । अनुसन्धान गर्दै जाँदा मोटरसाइकल चोरीको घटनामा महतो र यादवको संलग्नता देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यसैबीच, प्रहरीले लालबन्दी नगरपालिका–२, जुटपानी नहरबाट लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । शनिबार राती बीआर ३० डब्लू ६५६४ नम्वरको मोटरसाइकलमा नवलपुरबाट मलङ्गवातर्फ गाँजा लिएर जाँदै गर्दा चालक ब्रह्मपुरी गाउँपालिका–४, का २० वर्षीय तमने साह र पछाडि सवार १८ वर्षीय मोहम्मद शेराज पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट नौ किलो चारसय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।