लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–६, मा रहेको प्रेमज्योति प्राथमिक विद्यालयका विद्यार्थीलाई आयोडिन नुन वितरण गरिएको छ ।
विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन र उनीहरुको परिवारमा आयोडिनयुक्त नुनको प्रयोग बढोस् भन्ने उद्देश्यले आयोडिन नुन बाँड्न थालिएको हो । नियमित विद्यालय आउने विद्यार्थीलाई यसरी प्रत्येक महिना एक पोका आयोडिन नुन बाँड्ने लक्ष्य राखिएको छ ।
विद्यालयकी शिक्षिका सुस्मिता चौलागाईंले सञ्चालन गरेको आयोडिन नुन वितरण कार्यक्रममा लालबन्दी नगरपालिका–६, का वडाध्यक्ष उज्वल कुमार कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवत अधिकारी, समाजसेवी विष्णु भट्टराई, विद्यालयका प्रधानाध्यापक गोविन्द आचार्य लगायतको उपस्थिति रहेको थियो । विभिन्न मनकारीहरुबाट जन्मदिन, वैवाहिक वर्षगाँठ लगायतको अवसर पारेर नुन संकलन गर्ने र सोही नुन विद्यालयमा लगी विद्यार्थीहरुलाई वितरण गर्ने अभियानको सुरुवात गरिएको अभियानका नेतृत्वकर्ता विपीन भट्टराईले दिए ।
उनले प्रेमज्योति प्राथमिक विद्यालयसँगै लालबन्दीका अन्य केही विद्यालय र रामेछाप जिल्लाको मन्थलीमा पनि विद्यार्थीहरुलाई यसैगरी आयोडिनयुक्त नुन वितरण गर्ने तयारी भइरहेको बताएका छन् ।