मलंगवा – भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिकामा मंगलबार बिहान स्यालको टोकाइबाट १५ जना घाइते भएका छन् ।
घरमा बसिरहेका स्थानीयहरुलाई अचानक गाउँ पसेको बौलाह स्यालले आक्रमण गरी घाइते बनाएको हो । विष्णु गाउँपालिकाको वडा नं. २ बाराउद्योरण र पकडी तथा वडा नं. ४ मधुवनगोठमा स्यालले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् ।
स्यालको टोकाइबाट घाइते भएका १५ जनामध्ये छ जनालाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार गराइ थप उपचारका लागि सरुवा रोग अस्पताल, टेकु रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरु भने प्रादेशिक अस्पताल मलङ्गवामै उपचार गराइ घर फर्किएका छन् ।
स्यालले अधिकांशको हात र खुट्टामा टोकेको छ । मानिसहरुलाई आक्रमण गर्ने स्याललाई गाउँलेहरुले नियन्त्रणमा लिएर मारेका छन् ।