लालबन्दी – सर्लाहीको पूर्व–पश्चिम राजमार्गसहित सबै सडक खण्डहरुमा अहिले निर्वाध रुपमा यातायात सञ्चालन भइरहेका छन् ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पास गर्न खोजिएको भन्दै बुधबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आब्हान गरेको छ । तर सर्लाहीमा भने बन्दको कुनै प्रभाव देखिएको छैन् ।
सडकमा हिजो अस्ती झैँ साबिककै अवस्थामा सवारी साधनहरु गुडिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन भइरहेका जनाएको छ । यस्तै, बजारहरुसँगै कलकारखाना र उद्योग धन्दा पनि खुलेका छन् । विद्यालय तथा क्याम्पसहरुमा पठनपाठन भइरहेको छ ।
बन्दलाई लक्षित गर्दै जिल्लाको उत्तरी भेगका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती लगायतका क्षेत्रमा चौक गौडामा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ । नेकपा सर्लाहीले मंगलबार साँझ प्रेस विज्ञप्ती निकालेर देशभर झैँ सर्लाहीमा पनि आज बन्द आब्हान गरिएको जानकारी गराएको थियो ।