logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

जसपा सर्लाहीमा असन्तुष्टि चुलियो, पूर्व राजपाका नेताहरुद्वारा समानान्तर समिति घोषणा


  • उज्यालो अभियान

मलंगवा – जनता समाजवादी पार्टी नेपाल (जसपा) सर्लाहीमा असन्तुष्टि चुलिएको छ ।

केही दिनअघि पूर्व समाजवादी र पूर्व राजपालाई समायोजन गरेर जिल्ला समिति घोषणा गरिएकोप्रति आपत्ति जनाउँदै हिजो (सोमवार) पूर्व राजपाको एक समूहले समानान्तर समिति घोषणा गरेको छ । सदरमुकाम मलंगवास्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरेर पूर्व राजपा समूहले तत्कालिन जिल्ला अध्यक्ष समेत रहनुभएका कविलासी नगरपालिकाका मेयर कौशलकिशोर रायको अध्यक्षमा २५१ सदस्यीय पार्टीको समानान्तर कमिटी घोषणा गरेको हो ।

पार्टी एकता हुनुअघि पूर्व राजपाका तीन–तीन जना अध्यक्ष हुँदाहुँदै आफूहरुसँग सल्लाह नै नगरी सांसद प्रमोद साह र नेतृ किरण साहको इसारामा अवैधानिक ढंगले जिल्ला समिति घोषणा गरिएको विरोधमा समानान्तर समिति घोषणा गरिएको अध्यक्ष रायले उज्यालो अभियानसँग बताए । उनले प्रदेश समितिले आफू नेतृत्वको समितिलाई मान्यता नदिए पार्टीभित्र गम्भीर दुर्घटना हुने चेतावनी समेत दिएका छन् ।

पार्टीका नेता एवं जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षता तथा केन्द्रीय सदस्य डाक्टर अब्दुल रहीम मिकरानीको प्रमुख आतिथ्यतामा भएको भेलाले समानान्तर जिल्ला समिति बनाइएको हो । यसअघि केही साताअघि सदरमुकाम मलंगवामा भएको भेलाबाट वीरेन्द्र रायको अध्यक्षतामा जसपा नेपालको जिल्ला कमिटी घोषणा गरिएको थियो ।