पत्थरकोट – माओवादी केन्द्र नगर कमिटीले सर्लाहीको पत्थरकोट गाउँ कमिटीका तत्कालिन इन्चार्ज स्वर्गिय झरिलाल माझीको परिवारलाई शुक्रबार आर्थिक सहयोग गरेको छ ।
२०७० सालतिर पार्टीको पूर्व पत्थरकोट गाउँ कमिटीको अध्यक्ष भएका लालबन्दी नगरपालिका–१२, जियाजोर निवासी माझीको ३३ वर्षको उमेरमा माघ २२ गते निधन भएको थियो । माझीको हृदयघातका कारण निधन भएको हो ।
माझीको निधनप्रति दुःख व्यक्त गर्दै उनकै निवास जियाजोरमा पार्टीद्वारा आयोजित श्रद्धान्जली सभामा माझीको परिवारलाई १ लाख १५ हजार रुपैयाँ नगद प्रदान गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटीका अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन) ले जानकारी दिए । माझी परिवारको आर्थिक अवस्था कमजोर रहेकाले पार्टीका नेता कार्यकर्ताहरुबीच एक आपसमा संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको जर्गाले बताए ।
स्वर्गिय माझीका श्रीमती, ७ वर्षका एक छोरा र १६ महिनाकी एक छोरी छिन् । वडा कमिटीका अध्यक्ष वुद्धिमान माझीको अध्यक्षतामा आयोजित श्रद्धान्जली कार्यक्रममा पार्टीका जिल्ला कमिटी संयोजक कमल बुढाथोकी, प्रदेश कमिटीका सदस्य मनिष माझी, नगर कमिटी अध्यक्ष जर्गा लगायतको उपस्थिति रहेको थियो ।