संग्रामपुर – भारतसँगै टाँसिएको सर्लाहीको पर्सा गाउँपालिका–२, नारायणपुरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
नारायणपुरस्थित सीमा क्षेत्रबाट पर्सा गाउँपालिका–२, संग्रामपुर बस्ने २२ वर्षीय फिरोज अंसारी प्रतिवन्धित लागूऔषधसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी टोलीले प्रदेश २–००४ प ४०७९ नम्वरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा ज्याकेटको खल्तीमा भारततर्फबाट लुकाईछिपाइ ल्याएको लागूऔषधसहित पक्राउ गरेको हो ।
अन्सारीको साथबाट नाइट्रोभेट १० नामक १२ वटा ट्याब्लेट र नाइट्रोजाम नामक २ वटा ट्याब्लेटसहित १४ वटा ट्याब्लेट बरामद गरिएको प्रहरी चौकी नारायणपुरले जनाएको छ । प्रहरीले अन्सारीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
दुईदिन अघिमात्रै लालबन्दी नगरपालिका–१, नवलपुरबाट लागूऔषधसहित बरहथवाका एक युवक पक्राउ परेका थिए ।