जनमत पार्टीले गत वर्ष गोडैता नगरपालिकामा निकालेको जुलुश ।
लालबन्दी – किसान आन्दोलनअन्तर्गत सिके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) देखि पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन गर्ने घोषणा गरेपछि सर्लाही प्रहरीले राजमार्गमा सुरक्षा सतर्कता बढाएको छ ।
जनमत पार्टी झण्डै डेढ महिनादेखि आन्दोलनरत छ । सो पार्टीले गर्नसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सर्लाहीको बाँके जंगल, लालबन्दी, नवलपुर, हरिवन लगायतका क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको हो ।
आजदेखि राजमार्गमै बस्ने, खाना पकाएर खाने र आवतजावत पूर्ण रूपमा बन्द गर्ने जनमत पार्टीका एक नेताले बताए । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, पेन्सन दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले विगत डेढ महिनादेखि आन्दोलन गर्दै आएको छ ।